सार्वजनिक जीवनको २५ वर्ष पूरा गर्दै मोदी, ‘जनताको विश्वास नै मेरो शक्ति’


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेका छन्। सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका मोदीले बुधबार सरकार प्रमुखका रूपमा आफ्नो यात्राको २५ वर्ष पूरा गरेका हुन्।

यस अवसरमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले देशभरका भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई भर्चुअल सम्बोधन गरे। सम्बोधनका क्रममा मोदीले आफ्नो राजनीतिक यात्रामा जनताबाट प्राप्त विश्वास र आशीर्वादलाई सबैभन्दा ठूलो शक्ति भएको बताए।

‘आज म जे छु, त्यसमा सबैभन्दा ठूलो योगदान जनताको छ,’ उनले भने, ‘करोडौँ मानिसको विश्वास नै मेरो शक्ति रहँदै आएको छ।’

मोदीले आफ्नो २५ वर्षे सार्वजनिक यात्राका विभिन्न उतारचढाव सम्झिँदै विरोधबाट लोकतन्त्रको शक्ति, संकटबाट धैर्य र असफलताबाट पुनः उठ्ने प्रेरणा प्राप्त गरेको बताए। विगत २५ वर्षमा आफूले प्राप्त गरेको अनुभव व्यक्तिगत उपलब्धि मात्र नभई देशकै सम्पत्ति भएको उनको भनाइ थियो।

‘म आज पनि आफूलाई विद्यार्थी मान्छु’

मोदीले आफ्नो सार्वजनिक जीवनका २५ वर्षलाई जनताको आशीर्वाद र विश्वासको परिणामका रूपमा व्याख्या गरे। उनले भारतीय जनता पार्टी, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) तथा लोकतन्त्रमा विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरे।

१४० करोड भारतीय नागरिकको सेवाका लागि आफूलाई थप ऊर्जा र सामर्थ्य प्राप्त होस् भन्दै प्रार्थना गरेको उनले बताए। ‘जनता जनार्दन मेरा लागि ईश्वरकै स्वरूप हुन्। देशले मलाई धेरै दिएको छ, त्यसैले देश नै मेरा लागि सबैथोक हो,’ उनले भने।

विद्यालय जीवनदेखि नै आफूमा सिक्ने बानी रहेको उल्लेख गर्दै मोदीले आफू अहिले पनि विद्यार्थी नै रहेको बताए। जीवनका हरेक घटनाबाट आफूले केही न केही सिकेको उनको भनाइ थियो।

उनले असफलताले उठ्न सिकाएको, विरोधले लोकतन्त्र बुझ्न मद्दत गरेको र संकटले धैर्यको परीक्षा लिएको बताए। चन्द्रयान अभियानको असफलताबाट पुनः प्रयास गर्ने शिक्षा प्राप्त भएको तथा कोरोना महामारीले सामूहिक चेतनाको महत्त्व बुझाएको उनले स्मरण गरे।

गाउँ र गरिब समुदायसँगको अनुभवले सीमित स्रोतसाधनका बाबजुद ठूला सपना देख्न र साहसका साथ अघि बढ्न प्रेरित गरेको पनि मोदीले बताए।

‘हामी सेवक हौँ, सेवा नै हाम्रो धर्म हो’

मोदीले आफूलाई व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्नभन्दा निश्चित लक्ष्य हासिल गर्न काम गर्ने व्यक्तिका रूपमा प्रस्तुत गरे। ‘म महत्त्वाकांक्षाका लागि होइन, मिसनका लागि बाँच्ने मानिस हुँ,’ उनले भने।

राजनीतिक जीवनको प्रारम्भिक चरणमा संगठनको काममा सक्रिय रहेको स्मरण गर्दै उनले चुनाव सञ्चालन गराउने जिम्मेवारी सम्हाले पनि लामो समयसम्म आफूले चुनाव नलडेको बताए।

‘मेरो जीवनको एउटै ध्येय देशका लागि निःस्वार्थ कर्म गर्नु थियो। कर्म नै मेरो धर्म हो,’ उनले भने। भगवद्गीताको सन्दर्भ उल्लेख गर्दै मोदीले परिणामको चिन्ता नगरी निरन्तर कर्म गर्नुपर्ने बताए।

‘वी विल डु इट’ मार्फत नयाँ संकल्प

सम्बोधनका क्रममा मोदीले ‘वी विल डु इट’ अर्थात् ‘हामी गरेर देखाउँछौँ’ भन्ने नारालाई अघि सारे। विगतका उपलब्धिको चर्चा गरेर मात्र बस्नुभन्दा आगामी लक्ष्य प्राप्तिका लागि नयाँ संकल्प र ऊर्जा आवश्यक रहेको उनले बताए।

उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित विकसित भारत, विश्वको तेस्रो ठूलो अर्थतन्त्र, आत्मनिर्भर भारत, ओलम्पिक आयोजना तथा अन्तरिक्ष क्षेत्रमा थप उपलब्धि हासिल गर्ने लक्ष्य प्रस्तुत गरे।

यी लक्ष्य पूरा गर्न सरकार, राजनीतिक संगठन र नागरिकबीच साझा संकल्प आवश्यक रहेको उनको भनाइ थियो। उनले भारतलाई नयाँ उचाइमा पुर्‍याउन कार्यकर्तालाई ‘वी विल डु इट’ भन्ने नाराका साथ अघि बढ्न आग्रह गरे।

गुजरातदेखि प्रधानमन्त्रीसम्मको यात्रा

मोदीले सन् २००१ मा गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा प्रशासनिक व्यवस्थापनको धेरै अनुभव नभएको बताए। त्यसबेला जनशक्तिमाथिको विश्वास नै आफ्नो मुख्य आधार रहेको उनको भनाइ थियो।

जनतालाई साथ लिएर निर्णय गर्ने, नीति बनाउने र त्यसको कार्यान्वयन गर्ने अभ्यासले गुजरातमा परिणाम दिएको उनले दाबी गरे। गुजरातमा प्राप्त अनुभवले सन् २०१४ मा प्रधानमन्त्री बनेपछि पनि काम गर्न सहयोग पुगेको उनले बताए।

सन् २०१४ मा भारतको अर्थतन्त्र र शासन व्यवस्थाप्रति निराशा रहेको दाबी गर्दै मोदीले त्यसबेला देशले नयाँ आशा खोजिरहेको बताए। जनतासँग मिलेर काम गर्ने र सामूहिक प्रयासमा विश्वास गर्ने आफ्नो शैलीले परिस्थितिमा परिवर्तन ल्याएको उनको दाबी थियो।

उनले आफ्नो २५ वर्षे यात्राको मूल्याङ्कन आफू कहाँ पुगेँ भन्ने आधारमा नभई देश कहाँ पुग्यो भन्ने आधारमा गर्नुपर्ने बताए।

अर्थतन्त्र, कृषि र ऊर्जामा परिवर्तनको चर्चा

मोदीले आफ्नो सम्बोधनमा भारतमा भएका आर्थिक तथा प्राविधिक परिवर्तनको समेत चर्चा गरे। उनले ‘मेड इन इन्डिया’ मोबाइल फोनको विस्तार, सौर्य ऊर्जाको विकास र कृषि उत्पादनमा भएको प्रगतिलाई उपलब्धिका रूपमा प्रस्तुत गरे।

उनले सन् २०१५ देखि २०२५ सम्मको दशकमा भारतको कृषि वृद्धिदर स्वतन्त्रतापछिका दशकहरूमध्ये उच्च रहेको दाबी गरे। यस्ता उपलब्धिका लागि स्पष्ट नीति र सरकारको प्रतिबद्धता आवश्यक हुने उनको भनाइ थियो।

सुशासनको आधारका रूपमा ‘सबका साथ, सबका विकास’ को अवधारणा अघि सार्दै मोदीले समस्या सबै नागरिकको साझा भएकाले समाधान पनि सबैलाई लक्षित गरेर खोज्नुपर्ने बताए।

भारतको ऐतिहासिक गौरवको चर्चा गर्दै उनले विगतमा देशले विश्व अर्थतन्त्र र ज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए। देशको विकास र नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तन नै सार्वजनिक जीवनको वास्तविक मूल्याङ्कनको आधार हुनुपर्ने उनको भनाइ थियो।