काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
प्राधिकरणले आज सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहमा रहेका प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्ने प्राधिकरणले जनाएको छ। इच्छुक सङ्घसंस्थाले आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको सङ्ख्या, निर्माण गर्ने स्थान तथा सम्बन्धित स्थानीय तहको नाम स्पष्ट रूपमा खुलाउनुपर्नेछ।
त्यस्तै, आवास निर्माण सुरु गर्ने अनुमानित मिति र निर्माण सम्पन्न गर्ने समयसीमासहितको विस्तृत कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्नेछ। यसअघि नै बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरेर निर्माण कार्य अघि बढाउनुपर्नेछ।
“अस्थायी आवास बनाउन इच्छुक सङ्घसंस्थाले त्यससम्बन्धी सम्पूर्ण विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ,” प्रवक्ता महतले भनिन्।
प्राधिकरणले विपद्बाट घरबारविहीन वा आवासमा क्षति पुगेका परिवारलाई चाडपर्वअघि नै सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न साझेदार संस्थाको सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ।
रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण ठूलो संख्यामा घरपरिवार प्रभावित बनेका छन्। प्रभावित परिवारको तत्कालीन आवासीय आवश्यकता पूरा गर्न अस्थायी संरचना निर्माणलाई तीव्रता दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

















प्रतिक्रिया