काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको नापी कार्यालय बर्दिबासमा कार्यरत सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गाको नक्सा संशोधन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले बुधबार साहविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार साहले जग्गाको अंशबण्डाअनुसार तयार भएको नक्साको ट्रायल चेक गरी सोही आधारमा नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएका थिए। त्यसपछि उनले उक्त काम गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगको दाबी छ।
सेवाग्राहीबाट प्राप्त सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएको भन्दै आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको जनाएको छ। आयोगले एक लाख रुपैयाँलाई बिगो कायम गरेको छ।
अख्तियारले बिगो बराबरको जरिवाना तथा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायसमेत मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार साहविरुद्ध मागदाबीअनुसार सजाय हुनुपर्ने मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

















प्रतिक्रिया