डीडीसीबाट दैनिक १० हजार लिटर दूध खरिद गर्दै नेपाली सेना


काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपाली सेनाका विभिन्न ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति डीडीसीमार्फत हुने भएको छ।

सम्झौताअनुसार नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्नेछ।

सम्झौताअन्तर्गत सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गरिनेछ। यो परिमाण वार्षिक हिसाबले ३७ लाख ४१ हजार ५०६ लिटर हुन्छ।

त्यस्तै, डीडीसीले सेनालाई दैनिक ३६५ किलो दही आपूर्ति गर्नेछ। वार्षिक रूपमा १ लाख ३३ हजार ५२२ किलो दही आपूर्ति हुने सम्झौतामा उल्लेख छ।

सेनाका लागि दैनिक ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिजसमेत आपूर्ति गरिनेछ। वार्षिक रूपमा पनिर १३ हजार २४० किलो, होल मिल्क पाउडर ७ हजार ४४१ किलो र चिज ५ हजार २७८ किलो आपूर्ति हुनेछ।

खरिद सम्झौतापत्रमा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नेपाली सेनाका ३२ जिल्लामा रहेका विभिन्न ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको आपूर्ति नियमित रूपमा डीडीसीबाट हुने व्यवस्था मिलाइएको छ।

सरकारी स्वामित्वका दुई संस्थाबीच भएको यस सम्झौताले डीडीसीका दुग्ध तथा दुग्धजन्य उत्पादनको नियमित बजार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै सेनाका ब्यारेकमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति पनि नियमित र व्यवस्थित हुने भएको छ।