गगन थापाको घोषणा– कांग्रेसमा आजदेखि सबै गुट समाप्त


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका गुट तथा समूहहरू समाप्त भएको घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरेका हुन्।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे। यसअघि पनि थापाले महाधिवेशनपछि सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने र नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्न देशव्यापी अभियान सञ्चालन गर्ने बताएका थिए।

थापाले आफू पार्टीको आन्तरिक व्यवस्थापनमा मात्र सीमित नभई समाज र जनताबीच कांग्रेसका नीति, विचार तथा मुलुकका विषयमा बहस केन्द्रित गर्न चाहेको बताए। उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिरका नागरिक तथा राष्ट्रिय मुद्दासँगको संवादमा खर्चिने संकेत गरेका छन्।

महाधिवेशन सम्पन्न भएलगत्तै स्थानीय तहको निर्वाचनसम्म पार्टीका नेता–कार्यकर्ता दिनरात खटिने पनि थापाले बताएका छन्।