काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउने भएको छ। अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी निक्षेप संकलनको सूचना जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी आह्वान गरिएको कुल रकमको सीमाभित्र बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो।
यस उपकरणमार्फत संकलन गरिने रकमको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता हुँदा उपलब्ध रकमको प्रभावकारी व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम संकलन गरी बजारमा उपलब्ध अतिरिक्त तरलता घटाउने प्रयास गरिन्छ।
राष्ट्र बैंकको यो कदम बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्ने नियमित मौद्रिक उपकरणको प्रयोग हो। बोलकबोलबाट तय हुने ब्याजदरका आधारमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रकम राख्नेछन्।

















प्रतिक्रिया