काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यका उम्मेदवारहरूले आफूअनुकूल उम्मेदवारको सूची बाँड्न थालेपछि सभापतिका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् ।
महाधिवेशन प्रतिनिधिको मत प्रभावित पार्ने उद्देश्यले विभिन्न पदका उम्मेदवारहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार समेटिएका सूची वितरण गरेको पाइएको छ । सामाजिक सञ्जालदेखि प्रतिनिधिहरूमाझ पुगेका ती सूचीमा गगन थापा र विश्वप्रकाश शर्माको नाम जोडिएपछि दुवैले आफूहरूले कुनै आधिकारिक सूची नबनाएको स्पष्ट पारेका हुन् ।
सभापतिका उम्मेदवार थापाले मतदान सुरु भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको भन्दै त्यसलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका थिए ।
थापाले कांग्रेसको महाधिवेशन पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका थिए । उनले आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीका आधारमा भ्रममा नपर्न र कुनै पनि अफवाहको पछि नलाग्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
प्रतिनिधिहरूले स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मतदान गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि आफू र थापाको नाम जोडेर वितरण गरिएका सूचीप्रति आपत्ति जनाएका छन् । आफूहरूले कुनै पनि उम्मेदवारको सूची नबनाएको र नबाँडेको उनले स्पष्ट पारेका छन् ।
शर्माले शिलापत्रसँग कुरा गर्दै आफ्नो र थापाको नाम जोडेर मतदातामाझ १० वटा सूची बाँडिएको बताएका छन् । “हाम्रो नाम जोडेपछि भोट आउँछ भनेर हामी दुई भाइ (गगन थापा–विश्वप्रकाश शर्मा)ले सूची बनाएका छन् भनेर १० वटा सूची बाँडिएको छ,” उनले भने, “हामीले कुनै सूची बाँडेका छैनौँ ।”
विभिन्न पदमा उम्मेदवारी दिएका आकांक्षीहरूले आफ्नो पक्षमा मत आकर्षित गर्न दुवै नेताको नाम जोडेर सूची वितरण गरेको हुन सक्ने शर्माको आशंका छ ।
कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेका बेला उम्मेदवारका नाम समेटिएका यस्ता सूचीले प्रतिनिधिहरूमाझ अन्योल सिर्जना गर्न सक्ने देखिएको छ । दुवै नेताले आफ्नो नाममा प्रचार गरिएका सूचीलाई आधिकारिक नमान्न आग्रह गर्दै प्रतिनिधिहरूलाई स्वतन्त्र निर्णयका आधारमा मतदान गर्न अपिल गरेका छन् ।

















प्रतिक्रिया