श्रम बेच्ने होइन, प्रविधिबाट विश्व बजारमा पुग्ने हो : मन्त्री तिमिल्सिना


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवालाई उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको क्षेत्रमा जोडेर स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । उनले नेपालको युवा जनशक्तिलाई देशको प्रमुख पुँजीका रूपमा उपयोग गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्न सरकार अनुकूल वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए ।

उनले कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति भएको उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तनमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए । युवाले स्वदेशमै आफ्ना सपना पूरा गर्ने र आर्थिक उन्नति हासिल गर्ने अवसर पाएमा त्यसले देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

‘कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो । अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन,’ उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो ।’

मन्त्री तिमिल्सिनाले उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने पनि बताए । यसका लागि निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । युवाको प्रतिभा र क्षमतालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सके रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनले बताए ।

विश्वभर युवा पुस्तामा उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै उनले नेपालले पनि युवाको क्षमता र सम्भावनालाई आर्थिक विकाससँग जोड्नुपर्ने धारणा राखे । युवालाई नयाँ व्यवसाय सुरु गर्न, सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न र प्रविधिमा आधारित सेवा विकास गर्न प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालबाट ठूलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीका लागि विदेश जाने क्रम जारी रहेको सन्दर्भमा मन्त्री तिमिल्सिनाले सूचना प्रविधिको उपयोग गरेर नेपालमै बसेर विश्व बजारमा सेवा पुर्‍याउन सकिने बताए । उनका अनुसार प्रविधिमा आधारित सेवाको विकासले युवालाई स्वदेशमै अवसर उपलब्ध गराउनुका साथै विदेशी बजारबाट आम्दानी भित्र्याउने सम्भावनासमेत बढाउन सक्छ ।

‘अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ । सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ,’ उनले भने, ‘यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ ।’

नेपालको युवा जनशक्तिलाई उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तन र सूचना प्रविधिसँग जोड्न सके वैदेशिक रोजगारीमा निर्भरता घटाउने तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली सेवाको पहुँच विस्तार गर्ने सम्भावना रहेको मन्त्री तिमिल्सिनाको भनाइ छ ।