काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागकी मौसमविद् माधवी सिग्देलका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहेको छ । देशका हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदलीदेखि हुस्सु लाग्ने क्रम जारी छ ।
सुदूरपश्चिममा वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टाको विवरणअनुसार सुदूरपश्चिमको दार्चुलास्थित धरमपानी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा मापन भएको छ । पोखराको मालेपाटनस्थित केन्द्रमा ४८.२ मिलिमिटर वर्षा भएको छ । यस अवधिमा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ ।
छ प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
विभागको आगामी २४ घण्टाको पूर्वानुमानअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपात वा वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ ।
चार प्रदेशमा पहेँलो चेतावनी
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी जारी गरेको छ । ती क्षेत्रका बासिन्दालाई मौसमको पछिल्लो अवस्था बुझेर आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मध्यमदेखि भारी वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने मौसमविद् सिग्देलले बताएकी छन् । उनले मौसमसम्बन्धी आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालबाट नियमित रूपमा अद्यावधिक जानकारी लिन आग्रह गरेकी छन् ।
वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न व्यक्तिले मौसमको अवस्था ख्याल गर्नुपर्ने विभागको सुझाव छ ।

















प्रतिक्रिया