काठमाडौँ । रौतहटको निजगढस्थित लामो समयदेखि अलपत्र परेको लालबकैया नदी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र पहुँच मार्ग तथा नदी कटान नियन्त्रणको काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।
वर्षौँदेखि रुग्ण अवस्थामा रहेको आयोजनाका समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइएपछि पुल सञ्चालनको तयारीमा पुगेको मन्त्री लम्सालको भनाइ छ । बाँकी काम सम्पन्न भएपछि पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइनेछ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता गरिएको यो पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन । निर्माणमा ढिलाइ भएपछि पुरानो निर्माण कम्पनीलाई कालोसूचीमा राखेर २०७९ सालमा पुनः नयाँ ठेक्का आह्वान गरिएको थियो ।
तर, पुरानो ठेक्काअन्तर्गत निर्माण भएको सब-स्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनुका कारण नयाँ ठेक्का लागेपछि पनि करिब एक वर्षसम्म काम अघि बढ्न सकेको थिएन ।
आयोजनामा देखिएका समस्या समाधान गर्न पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको व्यवस्था गरेर कामलाई गति दिइएको मन्त्री लम्सालले बताए ।
‘हामीले समस्याको पहिचान गरी डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट गरायौँ । साथै, आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरी निर्माण कार्यलाई गति दियौँ,’ उनले भने, ‘हाल लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनको अन्तिम चरणमा छ ।’
मुख्य संरचना तयार, पहुँच मार्गको काम बाँकी
मन्त्री लम्सालका अनुसार पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम पनि पूरा भएको छ ।
हाल पुललाई सडक सञ्जालसँग जोड्ने पहुँच मार्ग (एप्रोच रोड) निर्माण र नदी कटान नियन्त्रणका लागि आवश्यक रिभर ट्रेनिङको काम तीव्र गतिमा भइरहेको छ । यी काम सम्पन्न भएपछि पुल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।
लामो समयदेखि पुल निर्माण पूरा नहुँदा स्थानीय बासिन्दाले आवतजावतमा समस्या भोग्दै आएका थिए । पुल सञ्चालनमा आएपछि रौतहट तथा आसपासका क्षेत्रका बासिन्दालाई आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
वर्षौँदेखि अलपत्र रहेको आयोजना निर्माणको अन्तिम चरणमा पुग्नुले पूर्वाधार विकासमा देखिएका समस्या समयमै पहिचान, बजेट व्यवस्थापन र जिम्मेवारी स्पष्टतामार्फत समाधान गर्न सकिने देखाएको छ । यद्यपि, पुल सञ्चालनमा आउने निश्चित मिति भने सार्वजनिक विवरणमा उल्लेख गरिएको छैन ।

















प्रतिक्रिया