भोटेकोशीको कहर : ४५ दिन बित्दा पनि हराएका छैनन् पीडा र त्रास


रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हट्न सकेको छैन । आँखैअगाडि बस्ती बगाएको बाढी, ज्यान बचाउन चिच्याइरहेका मानिस र भेलको गड्याङगुडुङ आवाज उनको स्मृतिमा अझै ताजै छन् ।

कहिलेकाहीँ उनलाई आफूले भोगेको घटना सपना हो कि जस्तो लाग्छ । तर, आँखा खोल्दा देखिने उजाड बगरले त्यो कठोर वास्तविकता फेरि सम्झाइदिन्छ । भदौ १० गते आएको बाढीले उनको बस्ती मात्र बगाएन, बाल्यकालदेखिका सम्झना, सँगै खेलेका साथी र परिचित अनुहारसमेत खोसिदियो ।

‘गड्याङगुडुङ गरेर ठूलो आवाज आयो । के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ,’ कान्छा त्यो दिन सम्झन्छन्, ‘बेतोडले भागेर अलि माथि पुगेँ । तल हेर्दा मानिस बगिरहेका थिए । कोही चिच्याइरहेका थिए । हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बडार्‍यो ।’

उनी आफू सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भए । तर, आँखैअगाडि मानिसहरू बगिरहेको देख्दाको पीडा भने अझै भुल्न सकेका छैनन् । त्यस्तो तीव्र भेलमा पसेर अरूलाई बचाउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘सयौँ मानिस बगेको हेर्नुपर्‍यो । त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन,’ उनी भन्छन्, ‘बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ ।’

बाढीमा गुमाएका आफन्त र गाउँले अब फर्केर आउने छैनन् भन्ने उनलाई थाहा छ । तैपनि कहिलेकाहीँ कतैबाट फर्किएर आइदिए हुन्थ्यो भन्ने झिनो आशा मनको कुनै कुनामा बाँकी छ । उजाडिएको बस्ती हेर्दा आँखा रसाउँछन्, मन भक्कानिन्छ ।

बाढीको डरले अझै निदाउन दिँदैन

बाढी गएको डेढ महिना बितिसक्दा पनि कान्छाको मनबाट त्रास हटेको छैन । फेरि त्यस्तै विपत्ति दोहोरिने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ । राति निदाउनसमेत कठिन हुने गरेको उनी बताउँछन् ।

‘त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,’ उनी भन्छन्, ‘फेरि यस्तै विपत्ति दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ । रातभर आनन्दले निद्रा नै पर्दैन ।’

उनकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि त्यो घटना बिर्सन सजिलो भएको छैन । आकाशमा मेघ गर्जिँदासमेत डर लाग्ने गरेको उनी बताउँछिन् । बाढीले उनीहरूको मनमा जीवनभर नमेटिने छाप छाडेको छ ।

स्थानीय सन्दु ज्ञावालेको पीडा पनि उस्तै छ । उनले भोटेकोशीको त्यही बाढीमा आफ्ना छ जना आफन्त गुमाए । घर, सडक र बस्ती फेरि बनाउन सकिएला, तर गुमाएका आफन्त फर्काउन नसकिने पीडाले उनलाई सताइरहन्छ ।

सन्दुको घर भने बाढीबाट जोगिएको थियो । घर सुरक्षित रहँदा खुसी हुनुपर्ने हो, तर आँगनको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ । आफ्नो घर बाँचेको खुसीभन्दा आफन्त र बस्ती गुमाएको दुःख ठूलो छ ।

‘बस्ती त फेरि बनाउन सकिन्छ होला । घर पनि फेरि बनाउन सकिन्छ, तर गुमाएका मान्छे कसरी फर्काउने ?’ सन्दुको प्रश्नमा बाढीले छाडेको पीडा प्रस्ट झल्किन्छ ।

गत वर्ष पनि भोटेकोशीमा बाढी आएको स्मरण गर्दै उनी यसपटकको विपत्तिले झन् ठूलो त्रास पैदा गरेको बताउँछन् । अब जुनसुकै बेला ठूलो बाढी आउन सक्ने र बाँकी रहेको घरसमेत बगाउन सक्ने चिन्ता उनलाई छ ।

त्यस दिन बाढी आउँदै गरेको पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउँछन् । नदीको आवाज अस्वाभाविक सुनिएपछि हेर्न जाँदा ठूलो भेल देखिएको थियो । उनले अरूलाई सचेत गराउन खोजे पनि बाढीको गर्जनबीच आफ्नो आवाज सुनाउन नसकेको बताए ।

‘अझै पनि यी सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ । बिहान उठ्दा धन्न सपना पो रहेछ भन्न पाए हुन्थ्यो,’ उनी भन्छन् ।

तर, त्यो सपना होइन । बाढीले बस्ती बगाएको, आफन्त खोसेको र जीवनलाई सधैँका लागि बदलिदिएको कठोर यथार्थ हो । नदीको भेल बगेर गइसके पनि त्यसले बाँचेकाहरूको मनमा छाडेको त्रास भने अझै हटेको छैन ।

बाढीपछि जीवन चलाउनै कठिन

भोटेकोशीमा बाढी आएको ४५ दिन बितिसकेको छ । बाढीले खोसेका जीवन फर्किने छैनन् भने बेपत्ता आफन्त भेटिने आशा पनि कमजोर हुँदै गएको छ । बाँचेकाहरू गुमाएका प्रियजनको सम्झनामा छन् । कुनै समय हरियाली र प्राकृतिक सौन्दर्यले भरिएको बस्ती अहिले उजाड बगरमा परिणत भएको छ ।

विपत्तिबाट जोगिएकाहरूको जीवनसमेत सहज छैन । घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ । आवश्यक सामान किन्न टाढा जानुपर्ने र महँगीका कारण सामान्य जीवन चलाउनसमेत कठिन भएको स्थानीयको गुनासो छ ।

‘महँगी असाध्यै छ । हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन । किनेर खान पनि नजिकै ठाउँ छैन । अलि टाढा जाँदा असाध्यै महँगो पर्छ,’ सन्दु भन्छन्, ‘बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ ।’

अभाव र पीडाबीच पनि सन्दुले भविष्यप्रतिको आशा भने पूर्ण रूपमा गुमाएका छैनन् । सडक र पुल पुनर्निर्माण होलान्, बस्ती फेरि बस्ला र जीवन सामान्य अवस्थामा फर्किएला भन्ने विश्वास उनीसँग छ । तर, त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने अन्योल कायमै छ ।

आवतजावतको विकल्प तुइन, जोखिमको डर उस्तै

बाढीले सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि स्थानीयलाई आवतजावतमा समेत कठिनाइ भएको छ । सामान किन्न र उपचारका लागि जानुपर्दा घण्टौँ कुरेर तुइनबाट खोला तर्नुपर्ने बाध्यता रहेको कान्छा तामाङ बताउँछन् ।

‘तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ । के गर्नु, तुइनबाहेक अन्य विकल्प नै छैन,’ उनी भन्छन् ।

स्थानीय पूर्वाधार विकास विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चारवटा तुइन निर्माण तथा सञ्चालनमा ल्याइएका छन् । ती तुइन निर्माण र मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले जानकारी दिएका छन् ।

नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई पनि मोटराइज्ड गरिएको अधिकारीले बताए ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइनसमेत सञ्चालनमा रहेका छन् ।

विभागका अनुसार थप तीन स्थानमा तुइन जडान गर्ने तयारी भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण सुरु भएको छ । स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि तुइन निर्माणको स्थान परिवर्तन गर्नुपर्ने भएको छ । रसुवाको रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ ।

१२ झोलुङ्गे पुल मर्मत, नौवटाको काम अन्तिम चरणमा

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौवटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ ।

स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता अधिकारीका अनुसार क्षतिग्रस्त पुल मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिद गरिएको छ । तेस्रो चरणका लागि पनि खरिद सम्झौता भई पहिलो खेपको सामान आपूर्ति भइसकेको छ ।

मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन् । गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ ।

यी १२ वटा पुलको मर्मतमा करिब तीन करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै, गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार) तथा धादिङका बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

बाढीबाट क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि सुरु गरिएको छ । पुनर्निर्माणमा आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको र थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्ताव पेस गरिएको अधिकारीले जानकारी दिएका छन् ।

भोटेकोशीमा आएको बाढीले बस्ती, संरचना र मानिसको जीवनमा गहिरो असर पारेको छ । भौतिक संरचना विस्तारै पुनर्निर्माण हुँदैछन्, आवतजावतका वैकल्पिक उपाय पनि बनाइँदै छन् । तर, आफन्त गुमाएका र विपत्तिको त्रासमा बाँचिरहेका स्थानीयका लागि सामान्य जीवनमा फर्किने यात्रा अझै लामो छ । बाढीको पानी घटेको ४५ दिन बितिसक्दा पनि उनीहरूको मनमा त्यस दिनको गर्जन, चिच्याहट र उजाडिएको बस्तीको दृश्य अझै उस्तै छ ।