कांग्रेसमा मतदान जारी, साढे २ बजेसम्म ३ हजार ७५४ मत खस्यो


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ। निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म करिब आधाले मतदान गरेका छन्।

विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी रहेको छ। प्रतिनिधिहरूको लामो लाइनका कारण निर्वाचन समितिले मतदानको समय थप गरेको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको छ।

दिउँसो २:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन्। मधेस प्रदेशमा १ हजार २३४ मध्ये ५९० जनाले मत खसालेका छन्।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेका छन्। लुम्बिनी प्रदेशमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमती प्रदेशमा १ हजार ४९१ प्रतिनिधिमध्ये ७३२ जनाले मतदान गरेका छन्।

निर्वाचन समितिले मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाएको छ। समय थपिएसँगै प्रतिनिधिहरूलाई मतदानका लागि थप अवसर मिलेको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिसहित विभिन्न पदमा नयाँ नेतृत्व चयन हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइनेछ।