काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा विभिन्न पार्टी कमिटीमा मनोनयन गर्ने नामबारे सहमति जुट्न नसकेपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बिहीबारदेखि जारी बैठक शुक्रबार पनि लम्बिएपछि शनिबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार शुक्रबारको बैठकमा विभिन्न पार्टी कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको थियो । बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीसहित विभिन्न कमिटीमा मनोनयन गर्ने सदस्यका नामबारे छलफल भएको उनले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका सदस्यलगायत मनोनयनका लागि थपिएका नाममा केही नेताले असन्तुष्टि जनाएपछि निर्णयमा पुग्न थप छलफल गर्ने सहमति भएको हो ।
एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष ओलीले विभिन्न कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका नाममा सहमति जुट्न नसकेपछि बैठक शनिबारका लागि सारिएको हो ।
एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्नुका साथै विभागलगायत विभिन्न पार्टी कमिटीलाई पूर्णता दिन बाँकी छ । ती संरचनालाई पूर्णता दिने विषयमा नेताहरूबीच सहमति जुटाउने प्रयास जारी रहेको छ ।
शनिबार दिउँसो १ बजे बस्ने बैठकमा मनोनयनका लागि प्रस्तावित नाममाथि थप छलफल गरी निर्णयमा पुग्ने प्रयास गरिनेछ ।

















प्रतिक्रिया