संसद् सचिवालयका सात कर्मचारीद्वारा राजीनामा


काठमाडौँ । सङ्घीय संसद् सचिवालयमा कार्यरत विभिन्न तहका सात जना कर्मचारीले पदबाट राजीनामा दिएका छन् । सरकारले निजामती कर्मचारीको सेवा अवधि र उमेर हदसम्बन्धी नयाँ व्यवस्था ल्याउन लागेको चर्चा चलिरहेका बेला संसद् सचिवालयका कर्मचारीहरूले राजीनामा दिएका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार असोज १६ गतेयता विभिन्न पदमा कार्यरत सात जना कर्मचारीले राजीनामा बुझाएका छन् । उनीहरूले राजीनामा पत्रमा पारिवारिक तथा व्यक्तिगत कारण उल्लेख गरेको उनले जानकारी दिए ।

‘राजीनामा पत्रमा उनीहरूले कुनै गुनासो वा भनाइ राखेका छैनन् । पारिवारिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन्,’ प्रवक्ता गिरीले भने ।

राजीनामा दिनेहरूमा अधिकृत तहदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी छन् । राजीनामा दिने कर्मचारीमा प्राविधिक अधिकृत सुदर्शन गौतम, मुद्रण अधिकृत राजेन्द्र लामिछाने, प्राविधिक अधिकृत नरेश श्रेष्ठ, शाखा अधिकृत गणेश सिम्खडा, नायब सुब्बा दीपेन्द्र केसी तथा कार्यालय सहयोगी लक्ष्मी गिरी र चिरिकाजी महर्जन रहेका छन् ।

संसद् सचिवालयजस्तो महत्त्वपूर्ण सरकारी निकायमा एकै अवधिमा सात जना कर्मचारीले राजीनामा दिएपछि यस विषयले चासो पाएको छ । उनीहरूले व्यक्तिगत तथा पारिवारिक कारण देखाए पनि कर्मचारी वृत्तमा भने सेवा अवधि र अनिवार्य अवकाशको उमेर हदसम्बन्धी प्रस्तावित व्यवस्थाबारे चर्चा भइरहेको छ ।

हाल संसद् सेवाका कर्मचारीका लागि छुट्टै संसद् सेवा ऐन, २०६४ कार्यान्वयनमा छ । सरकारले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकका प्रावधान संसद् सेवाका कर्मचारीलाई समेत लागू गर्ने तयारी गरिरहेको भन्ने विषयले कर्मचारी वृत्तमा चासो र असन्तुष्टि बढाएको बताइएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य भएकाले अध्यादेशमार्फत नयाँ व्यवस्था ल्याउन सक्ने चर्चा पनि कर्मचारीहरूबीच चलिरहेको छ । प्रस्तावित व्यवस्थाको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधान उल्लेख गरिएको छ ।

मस्यौदामा एकपटकका लागि ५८ वर्ष उमेरसम्म सेवा गर्ने सुविधा दिई त्यसपछि अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको बताइएको छ । यद्यपि, यी व्यवस्था प्रस्तावित चरणमा रहेकाले अन्तिम निर्णय र कार्यान्वयनको स्वरूप स्पष्ट हुन बाँकी छ ।

सेवा प्रवेश गर्दाका सर्त परिवर्तन गर्न खोजिएको र कर्मचारीका अधिकार कटौती हुन सक्ने भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ । तर, संसद् सचिवालयका प्रवक्ताले भने राजीनामा दिएका सातै जना कर्मचारीले व्यक्तिगत तथा पारिवारिक कारण उल्लेख गरेको बताएका छन् ।