कांग्रेस सभापतिको मतगणना आजै सुरु गरिने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आजै गरिने भएको छ । निर्वाचन समितिले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको हो ।

कांग्रेस निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज सभापति पदको मात्रै मतगणना गरिनेछ । उनले सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा गर्ने तय भएको जानकारी दिए ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि सुरुमा दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, निर्धारित समयमा मतदान सम्पन्न हुन नसकेपछि समय थप गरिएको हो ।

निर्वाचन समितिले पहिलोपटक मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको थियो । थपिएको समयमा पनि सबै प्रतिनिधिले मतदान गर्न नसक्ने देखिएपछि समय पुनः बढाएर साँझ ७ बजेसम्म पुर्‍याइएको छ ।

सभापति पदको मतगणना आजै गर्ने तयारी भए पनि अन्य पदको मतगणना कहिले सुरु गर्ने भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान र त्यसपछि हुने मतगणनालाई चासोका साथ हेरिएको छ ।