काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा पराजित भएपछि श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगन थापालाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले पार्टीभित्र देखिएका असमझदारी अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्न थापालाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत खड्गीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनको परिणाम जे भए पनि आफूले पाएको माया, विश्वास र साथलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिने उनले बताएका छन्।
विशेष र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनको भावनालाई अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको खड्गीको भनाइ छ। छुट्टै महाधिवेशनको बाटोमा रहेकाहरूलाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टी एकताको मूलधारमा समेट्नुपर्ने उनले उल्लेख गरेका छन्।
‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्,’ खड्गीले भनेका छन्, ‘कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’
नेतृत्वको सफलता चुनाव जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने साथीहरूको मन जित्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्। ‘मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन,’ खड्गीले भनेका छन्।


















प्रतिक्रिया