आन्दोलनमा उत्रिएका ध्रुव राठीसहित ६०० जना प्रहरी नियन्त्रणमा


काठमाडौं । भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर (विशेष गहन पुनरावलोकन) प्रक्रिया निलम्बन गर्न माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा युट्युबर ध्रुव राठीसहित ६०० जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

दिल्लीको जन्तरमन्तर र कनट प्लेसमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउँदै नियन्त्रणमा लिने क्रम जारी राखेको जनाइएको छ ।

सीजेपीको प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्षेत्रमा सीमा सुरक्षा बल (बीएसएफ) सहित ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । प्रदर्शनका कारण जनजीवनसमेत प्रभावित भएको छ ।

सुरक्षाको कारण देखाउँदै नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनमा आउने २५० वटा मेल तथा एक्सप्रेस रेल रद्द गरिएको जनाइएको छ । त्यस्तै, दिल्लीका ४५ वटा मेट्रो स्टेसन बन्द गरिएका छन् भने पक्राउ परेका प्रदर्शनकारीलाई राख्न १० वटा हिरासत केन्द्र स्थापना गरिएको बताइएको छ ।

यसैबीच, शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म इन्डिया गेट वरपर चार किलोमिटरको क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ । प्रदर्शनका क्रममा सम्भावित तनावलाई नियन्त्रण गर्न सुरक्षा निकायले विभिन्न प्रतिबन्धात्मक उपाय अपनाएको बताइएको छ ।

यसअघि बिहान ६ः३० बजे कनट प्लेस क्षेत्रको इन्दिरा चौकमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । उक्त क्रममा प्रहरीले ५० जना विद्यार्थीलाई भ्यानमा राखेर लगेको जनाइएको छ ।

यसैबीच, सीजेपीका संस्थापक अभिजित दीपक मुम्बईबाट दिल्ली प्रस्थान गरेका छन् । उनले प्रदर्शन सुरु हुनुअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीले हार स्वीकार गरिसकेको दाबी गरेका छन् ।

‘दिल्लीमा प्रदर्शनकारीमाथि ठूलो कारबाही गर्नु र प्रतिबन्ध लगाउनु शक्तिको संकेत होइन, बरु आफ्नै जनतासँग डराउने नेताको संकेत हो,’ उनले भनेका छन् ।

सीजेपीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर प्रक्रिया निलम्बन गर्नुपर्ने माग अघि सारेको छ । प्रदर्शनका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, सार्वजनिक यातायातमा अवरोध र प्रदर्शनकारीको गिरफ्तारीपछि दिल्लीको अवस्था तनावपूर्ण बनेको विवरण सार्वजनिक भएको छ ।