काठमाडौंवासीलाई विद्युत् प्राधिकरणको सूचना, यी क्षेत्रमा दुई दिन बत्ती काटिने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण तथा नियमित मर्मतसम्भारका लागि शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणअन्तर्गत रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो ।

प्राधिकरणका अनुसार ११ केभी एक्सएलपीई केबल जडान, नियमित मर्मतसम्भार तथा चार्जिङसम्बन्धी काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

शनिबार गैह्रीधारा र आसपासका क्षेत्रमा बत्ती जाने

शनिबार गैह्रीधारा फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

यस अवधिमा लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा क्षेत्र, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक क्षेत्र, बालुवाटार, चिनियाँ दूतावास आसपासलगायतका स्थानमा बत्ती जानेछ ।

त्यस्तै, शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

ओम अस्पतालको विपरीत क्षेत्रदेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल क्षेत्र, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर तथा चारखालस्थित इच्छुवान रेस्टुरेन्ट आसपासका क्षेत्रमा विद्युत् सेवा बन्द रहनेछ ।

आइतबार कालिकास्थान, डिल्लीबजार र मैतीदेवीमा विद्युत् कटौती

आइतबार कालिकास्थान फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यसअन्तर्गत कालिकास्थान वरको बोट, डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल तथा रातोपुलदेखि सेतोपुलसम्मका क्षेत्र प्रभावित हुनेछन् ।

प्राधिकरणका अनुसार तोकिएको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार पुनः सञ्चालन गरिनेछ ।

विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । थप जानकारीका लागि प्राधिकरणको हटलाइन नम्बर ११५० वा आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

विद्युत् कटौती हुने क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई आवश्यक कामको पूर्वतयारी गर्न तथा विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन आग्रह गरिएको छ ।