दिल्लीमा कक्रोचको प्रदर्शन रोक्न व्यापक सुरक्षा व्यवस्था


काठमाडौं । भारतको राजधानी दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनलाई रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । कक्रोच जनता पार्टी (सीजेपी) लगायतका संगठनले शनिबार प्रदर्शन आह्वान गरेपछि दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली मेट्रो सञ्जालका ४५ वटा स्टेसन बन्द गरिएका छन् । त्यस्तै, नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनमा आउने वा त्यहाँबाट छुट्ने कम्तीमा २४५ वटा रेल रद्द गरिएको छ । यसबाट राजधानीमा सार्वजनिक यातायात प्रभावित भएको छ ।

‘द इन्डियन एक्सप्रेस’का अनुसार मध्य दिल्लीको ठूलो क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । राजधानीका सडक तथा सहरका सीमा क्षेत्रमा ठाउँठाउँमा ब्यारिकेड राखेर सुरक्षा निगरानी बढाइएको छ ।

शनिबारका लागि तय गरिएको प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीलाई कडा सुरक्षा घेरामा राखिएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीको आवागमन नियन्त्रण गर्न तथा सम्भावित तनाव रोक्न संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको जनाइएको छ ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी र अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनलगायत संगठनले प्रदर्शन आह्वान गरेका हुन् । प्रदर्शनकारीले निर्वाचनसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै राजीनामाको माग अघि सारेका छन् ।

प्रदर्शनका कारण मेट्रो सेवा, रेल यातायात र मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाइएपछि दिल्लीको जनजीवन प्रभावित हुने देखिएको छ । राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएकाले सर्वसाधारणलाई यात्रा गर्नुअघि यातायात सेवाको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।