कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेसको साथ नहुने


काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार प्रदर्शनको आह्वान गरेको छ। प्रदर्शनमा सहभागी हुन पार्टीले सबै विपक्षी दललाई निमन्त्रणा दिए पनि भारतीय राष्ट्रिय कांग्रेस भने सहभागी नहुने भएको छ।

प्रदर्शनमा वामपन्थी दल, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सहभागी हुने जनाइएको छ। तर, कांग्रेसले भने प्रदर्शनबाट दूरी कायम गरेको छ। कांग्रेस नेता राहुल गान्धी शनिबार चेन्नईमा रहने भएकाले उनी उक्त प्रदर्शनमा सहभागी नहुने बताइएको छ। उनी चेन्नईमा आयोजित ‘छात्रहरूको गुञ्ज’ नामक अर्को कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

यसैबीच, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सीजेपीको प्रदर्शनप्रति नैतिक समर्थन जनाएका छन्। उनले शुक्रबार नै प्रदर्शनलाई समर्थन गर्ने बताएका थिए भने शनिबार बिहान सामाजिक सञ्जाल एक्समार्फत पुनः प्रदर्शनकारीहरूको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अखिलेशले देशका युवाको ऊर्जा र आवाजको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर प्रदर्शनकारीलाई रोक्न खोजे त्यो ठूलो भूल हुने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘हामी देशको युवा ऊर्जासँगै छौँ। बीजेपी सरकारले यदि तागतको बलमा जनतालाई रोक्न सकिन्छ भनी सोचिरहेको छ भने यो उसको अझ ठूलो भूल साबित हुनेछ। जन्तर–मन्तर अब एउटा ठाउँको नाम होइन, एउटा नयाँ चेतना र जागरणको प्रतीक बनेको छ।’

अखिलेशले सरकारले आन्दोलनकारीलाई रोक्ने प्रयास गरे देशका विभिन्न स्थानमा विरोध प्रदर्शन फैलिन सक्ने चेतावनीसमेत दिएका छन्। उनले भनेका छन्, ‘यदि सरकारले आन्दोलनकारीहरूलाई रोक्यो भने देशमा हरेक ठाउँमा जन्तर–मन्तर बन्नेछ।’

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनमा विभिन्न विपक्षी दलको सहभागिता र कांग्रेसको अनुपस्थितिलाई भारतीय विपक्षी राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।