काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासबाट सिर्जित चुनौती सामना गर्न नेपालले शिक्षा प्रणाली र मानव संसाधन विकासमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।
शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति थापाले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर सङ्कट समाधान गरी विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए।
उनले परम्परागत शिक्षण तथा सिकाइ विधिलाई समयअनुकूल परिमार्जन गर्न आवश्यक रहेको बताए। अबको शिक्षा प्रणालीमा विद्यार्थीलाई के सिकाउने भन्ने विषयसँगै कसरी सिक्ने, नयाँ ज्ञान कसरी हासिल गर्ने र बदलिँदो परिस्थितिअनुसार आफूलाई कसरी सक्षम बनाउने भन्ने सीप विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
थापाले आगामी केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुन सक्ने सम्भावना औँल्याउँदै प्रविधिमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात् गरेर शैक्षिक प्रणाली अघि बढाउनुपर्ने बताए। प्रविधिको विकासले शिक्षा प्राप्त गर्ने तरिका र सिकाइको प्रक्रियामै परिवर्तन ल्याउने भएकाले नेपालले पनि त्यसअनुसार तयारी गर्नुपर्ने उनको धारणा थियो।
विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नागरिकका रूपमा तयार पार्नु आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय संस्कार, संस्कृति र मौलिक पहिचानसँगै विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्नेमा जोड दिए। नेपाली समाजको मौलिकता जोगाउँदै विद्यार्थीलाई विश्व परिवेशमा सफल हुन सक्ने ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नु आजको आवश्यकता रहेको उनले बताए।
सभापति थापाले नेपालको सबैभन्दा ठूलो शक्ति जलस्रोत मात्र नभई मानव संसाधनसमेत भएको बताए। देशको विकास र समृद्धिका लागि नागरिकको क्षमता, ज्ञान र सीपमा लगानी गर्नुपर्ने उल्लेख गर्दै उनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
उनले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा स्थापित गर्ने अवसर गुमाइएको भन्दै त्यसलाई पुनः स्थापित गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुका साथै गुणस्तरीय सेवा उपलब्ध गराउन राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
‘हामीले शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा विकास गर्ने अवसर गुमायौँ। अब त्यसलाई पुनर्स्थापित गर्दै अघि बढ्नु आवश्यक छ,’ थापाले भने, ‘आज विश्व कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र परिवर्तनबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु हाम्रो प्रमुख दायित्व हो।’
थापाले विद्यार्थीलाई भविष्यका लागि तयार पार्न पाठ्यक्रम र शिक्षण विधिमा सुधार गर्नुका साथै उनीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नयाँ परिस्थितिसँग अनुकूल हुन सक्ने क्षमता विकास गर्नुपर्ने सन्देश दिए।
नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गरे। आफूलाई हुर्काएको विद्यालय र आफ्नै गाउँमा आयोजित कार्यक्रममा सहभागी हुन पाउनु विशेष अवसर भएको उनको भनाइ थियो।
विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित समारोहमा उनले शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको क्षमता विकास र बदलिँदो विश्व परिवेशअनुसार नेपालको शैक्षिक प्रणालीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।

















प्रतिक्रिया