सिन्धुपाल्चोक–२ कांग्रेसको क्षेत्रीय सभापतिमा बस्नेतको चयन


सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत (काजी) चयन भएका छन्। शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको अधिवेशनले क्षेत्रीय कार्यसमितिका पदाधिकारीसँगै प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को नेतृत्व तथा विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ।

अधिवेशनबाट क्षेत्रीय सचिवमा राजकुमार रायमाझी र अजय लामा चयन भएका छन्। त्यसैगरी, सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ चयन भएका छन्।

प्रदेशसभा क्षेत्रतर्फ ‘क’ को नेतृत्वमा सूर्यप्रसाद कोइराला र ‘ख’ को नेतृत्वमा रामशरण गिरी चयन भएका छन्। अधिवेशनले दुवै प्रदेशसभा क्षेत्रको नेतृत्व चयन गर्दै पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया अघि बढाएको छ।

त्यसैगरी, अधिवेशनबाट विभिन्न क्लस्टर समेटेर ३५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। चयन हुने प्रतिनिधिहरूमा विकास तामाङ, राजु गोर्खाली, भरत खड्का, गणेश खड्का, तेज बानियाँ, कौशिला गिरी, परमात्मा नेपाल, फणिन्द्र दाहाल, अनुराधा गुरुङ, विश्वराम श्रेष्ठ, मदनराज गिरी, इन्दिरा खतिवडा, रामचन्द्र दुलाल, सुशान गिरी र शङ्कर कार्कीलगायत रहेका छन्।

कांग्रेस नेता मोहन बस्नेतको उपस्थितिमा अधिवेशन उद्घाटन गरिएको थियो। क्षेत्रीय अधिवेशनबाट नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन भएसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।