काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा निर्वाचित भएपछि उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले बधाई दिँदै पार्टीभित्र एकता, संवाद र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
सभापति पदमा थापाले भारी मतान्तरसहित विजय हासिल गरेपछि खड्गीले लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित स्वाभाविक भए पनि त्यसले आपसी सम्बन्ध र आत्मीयतामा असर पार्न नहुने बताएका हुन्।
उनले नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै फरक विचार राख्ने सहकर्मीहरूको विश्वास जित्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।
‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ। मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन,’ खड्गीले भनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा आफू र थापाबीच भएको प्रतिस्पर्धालाई मित्रवत् प्रतिस्पर्धाको संज्ञा दिँदै खड्गीले नवनिर्वाचित सभापतिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले महाधिवेशनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउने प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
खड्गीले निर्वाचनमा प्राप्त मत र परिणामभन्दा आफूलाई प्राप्त माया, विश्वास र सद्भाव महत्त्वपूर्ण राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनको परिणाम जस्तो भए पनि आफूलाई साथ दिने साथीहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई सधैँ सम्मान गर्ने उनको भनाइ छ।
उनले कांग्रेसभित्र देखिएका असमझदारी र विभाजनका भावनालाई अन्त्य गरी सबै पक्षलाई एकताको मूलधारमा ल्याउनुपर्ने आवश्यकतासमेत औँल्याएका छन्। विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न भएका मतभेदलाई संवाद, सहमति र पारस्परिक सम्मानका माध्यमबाट समाधान गर्नुपर्ने उनले बताएका छन्।
खड्गीले नवनिर्वाचित सभापति थापालाई आफूलाई मत दिने र नदिने सबै नेता तथा कार्यकर्तालाई समान रूपमा समेटेर अघि बढ्न आग्रह गरेका छन्। फरक विचार र राजनीतिक धारमा रहेका कसैले पनि पार्टीभित्र आफूलाई पराइ महसुस गर्न नपरोस् भन्दै उनले सबैले सम्मान र अपनत्व पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्। कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्,’ खड्गीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले गुटगत स्वार्थभन्दा पार्टीको हित, व्यक्तिभन्दा विचार र प्रतिस्पर्धाभन्दा एकतालाई माथि राख्न सके कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
खड्गीले व्यक्तिगत हारजितभन्दा पार्टीको एकता, पदभन्दा सम्बन्ध र स्वार्थभन्दा विचार ठूलो हुने उल्लेख गर्दै सबैलाई कांग्रेसको उज्ज्वल भविष्यका लागि मिलेर अघि बढ्न आह्वान गरेका छन्।
‘गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सक्यौँ भने नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिनेछ,’ उनले भनेका छन्।
महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धी रहेका खड्गीको यो सन्देशले नयाँ नेतृत्वका सामु पार्टीभित्रका फरक मत र धारलाई समेट्दै एकता कायम राख्ने चुनौतीलाई पनि उजागर गरेको छ।

















प्रतिक्रिया