बूढीगण्डकीमा बाढीको कहर : मुग्लिङदेखि नवलपरासीसम्म सतर्कता अपनाउन आग्रह


काठमाडौं । बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि चितवन र नवलपरासी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नदीमा पानीको सतह बढ्ने र घट्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना जारी गर्दै त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेकाले सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ । त्यस्तै, मुग्लिङसम्म उच्च जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

यसैगरी, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति सचेत हुन आग्रह गरिएको छ । नदीको बहावमा आउने परिवर्तनले जोखिम बढाउन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।