बुढीगण्डकीमा अचानक बाढी उर्लिएपछि गोरखामा सेना परिचालन, ६ जनाको उद्धार


काठमाडौं । दसैँको पहिलो दिन घटस्थापनाकै बेला गोरखामा बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना खोज तथा उद्धारमा जुटेको छ । हिमपहिरोका कारण नदी थुनिएर बनेको ड्याम फुटेपछि उर्लिएको बाढीले बस्ती र पुलमा क्षति पुर्‍याएको छ भने जोखिममा परेका स्थानीयको उद्धार सुरु गरिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी तटीय क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाले स्थल तथा हवाईमार्गबाट फौज परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाएको छ ।

चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि उइनगुलुङ खोला र बुढीगण्डकी नदीको बहाव अवरुद्ध भएको थियो । नदी थुनिएर बनेको ड्याम खुलेपछि लेदो र गेग्रानसहितको ठूलो बाढी आएको हो । बाढीले दुईवटा पक्की पुल र केही घर बगाएको निर्देशनालयले जनाएको छ ।

बाढी र पहिरोको जोखिमबीच गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ । पहिरोको जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको हो ।

उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । बाढीले क्षति पुर्‍याएका क्षेत्रको अवस्था बुझ्ने, जोखिममा परेकाको खोजी गर्ने र आवश्यक उद्धार कार्य अघि बढाउने काम भइरहेको छ ।

दसैँको सुरुवातमै प्राकृतिक विपत्तिले गोरखाका बस्ती प्रभावित भएका छन् । नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ । बाढीबाट भएको क्षति र सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।