बूढीगण्डकीमा बाढीको सतह जोखिम तहभन्दा माथि मुग्लिन बेनीघाटमा अति उच्च जोखिम


काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्म बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको सूचनाअनुसार बेनीघाट क्षेत्रमा बाढीको जोखिम अत्यधिक रहेकाले स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेछ । नदीको बहाव र जलसतहमा परिवर्तन भइरहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा पनि बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ । चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा मध्यम जोखिम रहेकाले त्यहाँका बासिन्दालाई समेत सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, बाढीको बहाव हेर्न नदीमा नझर्न र जोखिमयुक्त स्थानमा बसोबास नगर्न आग्रह गरिएको छ । सुरक्षित स्थानमा रहन तथा आधिकारिक सूचनालाई ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ ।