काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा विभिन्न क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सुरु गरिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै उपसभापति र महामन्त्री पदको मतगणनालाई निरन्तरता दिँदै अन्य पदको मतगणना पनि अघि बढाउने जनाएको हो । यी पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको थियो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनाअनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना गर्ने कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।
मतगणना नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको छ । निर्वाचन समितिले सम्बन्धित पदका उम्मेदवारहरूलाई निर्धारित समयतालिकाअनुसार उपस्थित हुन सूचित गरेको छ ।
समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले बढीमा दुई जना प्रतिनिधि राख्न पाउनेछन् । तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने मतगणनास्थलमा आफैँ मात्र उपस्थित हुन पाउनेछन् । उनीहरूले अन्य प्रतिनिधि राख्न पाउने छैनन् ।


















प्रतिक्रिया