बूढीगण्डकी बाढीको प्रारम्भिक विवरण सार्वजनिक : कहाँ–कहाँ भयो क्षति ?


काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थान बाढीबाट प्रभावित भएका छन् ।

मन्त्रालयका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही वडाको सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर पूर्ण रूपमा बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।

धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ । धार्चे–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेका छन् ।

त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बाढीले बगाएको छ । आरुघाट–९ नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा आसपासका सातदेखि आठवटा घरसमेत बगाएको छ । यसले स्थानीय बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरणले देखाएको छ ।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्था माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा रहेको मन्त्रालयको भनाइ छ ।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली (ईएमटी) लाई तयारी अवस्थामा राखिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले बाढीबाट भएको समग्र क्षतिको यकिन विवरण आउन बाँकी छ ।