काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण अवरुद्ध सडक यातायात सहज बनाउन नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीमा निर्माण गरिएको एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ । बाढी आएको ४५ दिनपछि पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीको आवागमन र बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।
भदौ १० गते आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको थियो । नेपाली सेनाले निर्माण गरेको पुलको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । उद्घाटनसँगै सेनाले उक्त पुल गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
पुल निर्माणका क्रममा सेनाले बेत्रावतीस्थित फलाकु खोलामा करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँचमार्ग निर्माण गरेको थियो । पहुँचमार्ग तयार भएपछि सुरु गरिएको एक्रो बेली ब्रिज जडानको काम शनिबार सम्पन्न भएको थियो ।
नवनिर्मित पुल २४० फिट अर्थात् ७३.२ मिटर लामो र १८ फिट अर्थात् ५.५ मिटर चौडा छ । यसको भारवहन क्षमता ४० टन रहेको छ ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा र आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री, खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पुलले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ ।
बाढीले क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित बनेको यातायात सम्पर्क पुनः सहज बनाउन बेत्रावतीमा निर्माण गरिएको यो पुलले स्थानीय बासिन्दा र सडक प्रयोगकर्तालाई राहत दिने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया