मुस्ताङ । बेनी–जोमसोम सडक सञ्चालनमा आएसँगै मुस्ताङमा रोकिएका १७३ वटा मालवाहक कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौंलगायतका सहरतर्फ लागेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सडक अवरुद्ध हुँदा दुई सातादेखि मुस्ताङमा रोकिएका कन्टेनर सडक मर्मतपछि बाहिरिन थालेका हुन् । कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका कन्टेनर सडक सञ्चालनमा आएपछि गन्तव्यतर्फ लागेका छन् ।
बस्यालका अनुसार असोज २३ गते साँझ बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएको थियो । सडक खुलेको पहिलो दिन असोज २४ गते ८५ वटा कन्टेनर मुस्ताङबाट बाहिरिएका थिए भने दोस्रो दिन असोज २५ गते थप ८८ वटा कन्टेनर बेनीतर्फ लागेका थिए । यसरी दुई दिनमा १७३ वटा कन्टेनरले मुस्ताङ छाडेका हुन् ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने थासाङ गाउँपालिका–४, घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा विभिन्न प्रकारका ३९१ वटा सवारीसाधन मुस्ताङबाट बाहिरिएका छन् । त्यसपछि पनि सवारीसाधन बाहिरिने क्रम जारी रहेको र आज ५० भन्दा बढी सवारीसाधन मुस्ताङबाट बाहिरिएको जनाइएको छ ।
सडक अवरुद्ध हुँदा प्रभावित बनेको मालसामान ढुवानीसँगै मुस्ताङको स्थानीय उत्पादन बजारसम्म पुर्याउने काम पनि अघि बढेको छ । चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङका अनुसार मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको छ ।
बेनी–जोमसोम सडक सञ्चालनमा आएसँगै चीनबाट आयातित सामान ढुवानी, स्थानीय कृषि उत्पादनको बजारीकरण र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया