मधेसमा कांग्रेसको साख फर्काउने चुनौती, महाधिवेशनबाट कस्तो सन्देश ?


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीभित्र नयाँ आशा पलाएको छ। युवा नेतृत्वप्रति आकर्षण बढ्दै गए पनि कांग्रेसका लागि आफ्नो ऐतिहासिक आधारभूमि मधेसमा गुमेको जनमत फर्काउनु प्रमुख चुनौती बनेको छ।

कुनै समय मधेसलाई नेपाली कांग्रेसको बलियो राजनीतिक आधार मानिन्थ्यो। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूले मधेसबाटै राजनीतिक शक्ति आर्जन गरेका थिए। तर, पछिल्ला वर्षमा मधेसकेन्द्रित दलहरूको उदय, माओवादी आन्दोलन, आन्तरिक गुटबन्दी र स्पष्ट मधेसकेन्द्रित एजेन्डाको अभावले कांग्रेसको प्रभाव कमजोर हुँदै गएको विश्लेषण छ।

लामो समय कांग्रेसको राजनीति गरेका खुसीलाल मण्डलका अनुसार कुनै समय मधेस र कांग्रेसबीच बलियो सम्बन्ध थियो, तर अहिले अवस्था बदलिएको छ। मधेसको साथ कमजोर हुँदा कांग्रेसले आफ्नो पुरानो राजनीतिक शक्ति कायम राख्न नसकेको उनको भनाइ छ।

पूर्वकांग्रेस नेता जेपी गुप्ताले मधेसमा पार्टी कमजोर हुनुको प्रमुख कारण स्पष्ट एजेन्डा र बलियो स्थानीय संगठनको अभावलाई मानेका छन्। उनका अनुसार विगतमा गाउँ–गाउँसम्म प्रभावशाली नेता तथा कार्यकर्ता सक्रिय थिए, तर अहिले पुराना नेताहरू निष्क्रिय हुँदा संगठनको पकड कमजोर बनेको छ।

सिरहाका बुद्धिजीवी डा. महादेव साह पनि पार्टीभित्रको आन्तरिक विभाजन र अन्योलले नेता–कार्यकर्तालाई प्रभावित पारेको बताउँछन्। उनका अनुसार पुराना पुस्ताका कतिपय नेता अझै शेरबहादुर देउवाको प्रभावमा देखिन्छन् भने युवा पुस्तामा गगन थापाप्रति आकर्षण बढेको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेसका ३२ प्रत्यक्ष सिटमध्ये कांग्रेसले एक सिट मात्र जितेको विवरणले पार्टीको कमजोर अवस्थालाई देखाएको छ। मधेसलाई आफ्नो बलियो आधार मान्दै आएको कांग्रेसका लागि यो परिणाम गम्भीर राजनीतिक चुनौतीका रूपमा देखिएको छ। स्वयं गगन थापा पनि सर्लाहीबाट पराजित भएका थिए।

युवा आकर्षणलाई मतमा बदल्नुपर्ने चुनौती

१५औँ महाधिवेशनपछि कांग्रेसमा युवा पुस्ताको आकर्षण बढेको चर्चा भए पनि त्यसले आगामी निर्वाचनमा कस्तो परिणाम दिन्छ भन्ने स्पष्ट भइसकेको छैन। पूर्वकांग्रेस नेता गुप्ताका अनुसार युवा आकर्षण मात्रै पर्याप्त हुँदैन; पार्टीको स्थानीय संगठन सक्रिय बनाउनु र पुराना नेता–कार्यकर्तालाई पुनः परिचालन गर्नु आवश्यक छ।

पर्साका कानुन व्यवसायी वीरेन्द्र यादव भने कांग्रेसको ऐतिहासिक आधार अझै पूर्ण रूपमा समाप्त नभएको बताउँछन्। उनका अनुसार जेनजी आन्दोलनपछि पार्टी कमजोर देखिए पनि संगठनलाई पुनर्जीवित गर्न सके कांग्रेस फेरि उठ्न सक्छ।

यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थानीय संगठन कमजोर रहेको तर्क गर्दै कांग्रेस पुनः बलियो विकल्प बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, मधेसमा कांग्रेसको पुनरागमन कति प्रभावकारी हुन्छ भन्ने कुरा पार्टीले अपनाउने नीति, संगठन सुधार र जनतासँगको सम्बन्धमा निर्भर रहने देखिन्छ।

गगन थापाले नेतृत्व सम्हालेसँगै कांग्रेसले नयाँ अध्याय सुरु गरेको सन्देश दिएको छ। अब त्यो सन्देशलाई व्यवहारमा उतार्दै मधेसका समस्या सम्बोधन गर्ने, युवा पुस्ताको विश्वास जित्ने र निष्क्रिय संगठनलाई सक्रिय बनाउने जिम्मेवारी नयाँ नेतृत्वमाथि छ।

ऐतिहासिक विरासतका आधारमा मात्रै मधेसमा कांग्रेसको पुरानो प्रभाव फर्किने छैन। स्पष्ट राजनीतिक एजेन्डा, बलियो स्थानीय संगठन र जनतासँगको पुनःसम्बन्ध स्थापित गर्न सके मात्र गगन नेतृत्वको कांग्रेसले मधेसमा आफ्नो गुमेको जनमत फर्काउने बाटो बनाउन सक्छ।