काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढी पहिरोका कारण नदीको बहाव थुनिएर बनेको अस्थायी ड्याम फुटेपछि आएको प्रारम्भिक आकलन गरिएको छ । बाढीका कारण १० जना सम्पर्कविहीन भएका छन् भने विभिन्न स्थानका ६ वटा पुल बगाएको छ ।
सेनाका अधिकारीहरूले हेलिकप्टरबाट गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच गएको पहिरोको निरीक्षण गरेका छन् । निरीक्षणपछि सैनिक अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बुझाएको प्रारम्भिक रिपोर्टमा पहिरोले नदी थुनिएपछि बहाव एकाएक बढेर बाढी आएको उल्लेख गरिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार पहिरो खसेर नदी थुनिएको र पछि अवरोध खुल्दै जाँदा पानीको बहाव बढेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन ड्रोनसहितको टोलीसमेत परिचालन गरिएको उनले बताए । उनका अनुसार यसबारे थप अध्ययन भइरहेको छ ।
यता, जिल्ला प्रहरी कार्यालय गोरखाले सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसको प्रभावले बुढीगण्डकीमा बाढी आएको दाबी गरेको छ । प्रारम्भिक विवरणमा पनि पहिरोका कारण नदीको बहाव अवरुद्ध भएर पछि एक्कासि बाढी आएको देखिए पनि घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको थियो । नदीको बहाव बढ्दै जाँदा पहिरोले बनाएको अवरोध भत्किएको र त्यसपछि लेदो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक विवरण छ ।
बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ । विभिन्न स्थानका दुई मोटरेबल र चार झोलुङ्गे गरी ६ वटा पुल बगाएको जनाइएको छ । घटनापछि बेपत्ता भएकाहरूको खोजी तथा बाढीको कारणबारे थप अध्ययन भइरहेको छ ।

















प्रतिक्रिया