बूढीगण्डकीमा बाढीको रहस्य खुल्दै, पहिरोले नदी थुनिएको प्रारम्भिक आकलन


काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदीको बहाव थुनिएपछि आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

महाशाखाका अनुसार बाढी आएको क्षेत्रमा पछिल्लो समय भएको वर्षाको अवस्था र उपलब्ध प्रारम्भिक सूचनाले सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको सम्भावना कम देखाएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा बाढी प्रभावित क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।

“प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,” भट्टराईले भने ।

प्रारम्भिक आकलनअनुसार माथिल्लो क्षेत्रमा पहिरो खस्दा नदीको बहाव अवरुद्ध भई अस्थायी रूपमा पानी जम्मा भएको र त्यसपछि अवरोध खुलेर एकैपटक ठूलो परिमाणमा पानी बगेको हुन सक्ने देखिएको छ । यद्यपि, बाढी आउनुको वास्तविक कारण पुष्टि गर्न थप अध्ययन तथा स्थलगत निरीक्षण आवश्यक छ।