काठमाडौं । जनमत पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, सम्भावित उम्मेदवार छनोट र चुनावी तयारीलाई तीव्र बनाउने भएको छ । पार्टीले मातहतका कमिटीहरूलाई आफ्नो प्रभाव रहेका पालिकाको सर्वेक्षण गरी सम्भावित उम्मेदवारको सूची र स्थानीय मुद्दासहितको विवरण पठाउन निर्देशन दिएको छ ।
महाधिवेशनपछि काठमाडौंस्थित केन्द्रीय सम्पर्क कार्यालयमा बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. सिके राउतले जानकारी दिए ।
राउतका अनुसार कुन–कुन पालिकामा पार्टीको संगठन बलियो छ, कहाँ सशक्त उम्मेदवार उपलब्ध छन् र स्थानीय तहमा उठाउनुपर्ने मुख्य एजेन्डा के–के हुन सक्छन् भन्ने विषयमा सर्वेक्षण भइरहेको छ । यसका लागि केन्द्रीय कार्यकारिणी समितिदेखि जिल्ला र पालिका तहका पदाधिकारीलाई सुझाव तथा सिफारिस पठाउन आग्रह गरिएको उनले बताए ।
पार्टीले संगठन विस्तार र जनसम्पर्क बढाउन ‘जन जन जनमत, मन मन जनमत’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । स्थानीय तथा प्रदेश निर्वाचन नजिकिँदै गएकाले संगठन क्रियाशील रहेका जिल्लामा पार्टी कार्यालय नियमित रूपमा सञ्चालन गर्न र जिम्मेवारी तोकेर पदाधिकारी तथा कार्यकर्तालाई खटाउन निर्देशन दिइएको छ ।
पार्टीले जारी गरेको सर्कुलरमा पार्टी कार्यालय सञ्चालनको पूर्ण जिम्मेवारी सम्बन्धित तहको कार्यकारिणी समितिलाई हुने उल्लेख छ । कार्यालय हस्तान्तरण गर्दा ऋण वा तिर्न बाँकी रकम राख्न नपाइने तथा रजिस्टर, दराज, टेबल–कुर्सीलगायत पार्टीका सामग्री पनि व्यवस्थित रूपमा हस्तान्तरण गर्नुपर्ने जनाइएको छ ।
त्यस्तै, संगठन र सशक्त उम्मेदवार भएका पालिकामा पार्टी कार्यालय सञ्चालनको पहल गर्न तथा स्थानीय अधिवेशनलाई निरन्तरता दिन बैठकले निर्देशन दिएको छ । आगामी मंसिर १० गते काठमाडौंमा मनाइने ‘रंगभेदविरुद्ध एकता दिवस’का लागि प्रत्येक वडामा युवा दस्ता तयार गर्न पनि भनिएको छ ।
बैठकले केन्द्रीय कार्यकारिणी समितिका सदस्यका लागि वार्षिक न्यूनतम पाँच हजार रुपैयाँ र केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीका लागि न्यूनतम १० हजार रुपैयाँ लेवी निर्धारण गरेको छ ।
यसैगरी, पार्टीभित्र असन्तुष्ट रहेका कार्यकर्ताका समस्या सुन्न र संवादमार्फत समाधान खोज्न राष्ट्रिय उपाध्यक्ष राजकुमार त्यागीको नेतृत्वमा समिति गठन गरी काम अघि बढाउने निर्णय गरिएको छ ।
स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर जनमत पार्टीले संगठनको अवस्था मूल्यांकन, सम्भावित उम्मेदवार पहिचान र पार्टी संरचनालाई सक्रिय बनाउने तयारी थालेको छ ।

















प्रतिक्रिया