विराटनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ र संस्थागत बनाउन अझ बढी मेहनत, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयताबारे विभिन्न खालका भ्रम सिर्जना भइरहेको उल्लेख गर्दै त्यसलाई तथ्यका आधारमा चिर्नुपर्ने बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्डै एक दशक पुग्न लाग्दा पनि यसलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
उनले संघीयता कार्यान्वयनपछि मुलुकले विकास, सेवा प्रवाह र शासन व्यवस्थाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । यद्यपि, नागरिकका कतिपय अपेक्षा पूरा हुन नसक्दा संघीयताबारे भ्रम सिर्जना हुने गरेको उनले उल्लेख गरे ।
नागरिकका अपूरा अपेक्षालाई सम्बोधन गर्दै संघीयताका उपलब्धिबारे तथ्यगत जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ थियो । संघीयताबारेका भ्रम चिर्दै यस व्यवस्थालाई सुदृढ बनाउन र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन उच्चस्तरको सहकार्य र निरन्तर मेहनत अपरिहार्य रहेको उनले बताए ।
मुख्यमन्त्री शाहीले संघीयताको मर्मअनुसार प्रदेश सरकार, प्रदेशसभा र विभिन्न प्रदेशबीचको आपसी सम्बन्ध, अनुभव आदानप्रदान तथा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
भौगोलिक विकटता र विभिन्न चुनौतीका बाबजुद कर्णाली प्रदेश नागरिकका अपेक्षा पूरा गर्दै संघीयतालाई संस्थागत गर्ने दिशामा निरन्तर प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
संघीय व्यवस्थालाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र जिम्मेवारीअनुसारको कार्यसम्पादन आवश्यक रहेको सन्दर्भमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

















प्रतिक्रिया