प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपछि ममाथि निरन्तर प्रहार भयो : सबै आरोप झुटा हुन्, छानबिनमा सघाउन तयार छु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएको विवादित अडियो आफ्नो नभएको दाबी गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) तथा प्रविधिको प्रयोग गरेर काल्पनिक पात्र खडा गरी अडियो तयार पारिएको उनको जिकिर छ ।

मंगलबार बिहान फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सुनारले आफूलाई नियोजित रूपमा विवादमा तान्न र चरित्रहत्या गर्न खोजिएको आरोप लगाएका हुन् ।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारबारे प्रश्न उठाएपछि आफूविरुद्ध विभिन्न आरोप लगाएर घेराबन्दी गर्न खोजिएको उनको दाबी छ । प्रहरीभित्रको अनियमितताविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वबाट आफूलाई धम्क्याउने काम भएको आरोपसमेत उनले लगाएका छन् ।

सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सुनारले उक्त अडियो आफ्नो नभएको बताएका छन् । प्रविधि वा एआईको प्रयोग गरी काल्पनिक पात्र खडा गरेर अडियो तयार पारिएको र त्यसलाई प्रचार गरेर आफ्नो छवि बिगार्न खोजिएको उनको जिकिर छ ।

कसैले औपचारिक रूपमा मुद्दा नहालेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर आफू तथा अन्य व्यक्तिको चरित्रहत्या गर्ने प्रयास गरिएको उनले आरोप लगाएका छन् ।

‘निष्पक्ष छानबिन गर्न तयार छु’

सांसद सुनारले आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पारेका छन् । पार्टी, संसद् र राज्यका सम्बन्धित निकायबाट हुने निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको प्रमाणित भए पार्टीको केन्द्रीय समिति र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको उनको भनाइ छ ।

त्यति मात्र नभई, दोषी ठहरिए हत्कडी लगाएर भए पनि कानुनअनुसारको सजाय भोग्न तयार रहेको उनले बताएका छन् ।

विवादित अडियो सार्वजनिक भएपछि सांसद सुनारले दिएको यो स्पष्टीकरणले घटनालाई थप चर्चामा ल्याएको छ । यद्यपि, अडियोको प्रामाणिकता, त्यसमा रहेको आवाज कसको हो र एआई प्रयोग गरिएको हो वा होइन भन्ने विषय स्वतन्त्र प्राविधिक परीक्षणबाट पुष्टि भएको विवरण उपलब्ध छैन ।

त्यसैले अडियोको सत्यता र सुनारले लगाएका आरोपको निष्पक्ष छानबिनबाटै वास्तविकता स्पष्ट हुने देखिन्छ ।