बिमस्टेक बैठकमा आज गृहमन्त्री गुरुङको सम्बोधन


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालले प्राकृतिक विपद् जोखिम न्यूनीकरणदेखि साइबर अपराध नियन्त्रणसम्मका विषय उठाउने भएको छ ।

भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने बैठकमा नेपालको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा बिमस्टेकका सात सदस्य राष्ट्र नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागी हुँदैछन् ।

गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृहसचिवहरूको बैठक बसेको थियो । उक्त बैठकमा गृहमन्त्रीस्तरीय बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र सदस्य राष्ट्रहरूबीच पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने विषयमा जोड दिनेछन् ।

नेपालजस्ता हिमाली भूभाग भएका मुलुकमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला क्षेत्रीय सहकार्य र समयमै सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनु महत्त्वपूर्ण रहेको छ ।

साइबर अपराधदेखि मानव बेचबिखनसम्म नियन्त्रणमा साझा रणनीति

गृहमन्त्री गुरुङले क्षेत्रीय सुरक्षाका चुनौतीका रूपमा रहेका साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार र सम्पत्ति शुद्धीकरण नियन्त्रणका विषय पनि उठाउने बताइएको छ ।

यी अपराध सीमापार सञ्जालमार्फत सञ्चालन हुन सक्ने भएकाले तिनको नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच साझा रणनीति, सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय आवश्यक रहेको नेपालको जोड रहनेछ ।

त्यस्तै, आतंकवादी गतिविधि नियन्त्रण र आतंकवादमा हुने वित्तीय लगानी निरुत्साहित गर्न सदस्य राष्ट्रहरूबीच गुप्तचर सूचना आदानप्रदान तथा सुरक्षा निकायबीच सहकार्य बढाउने विषय पनि बैठकको एजेन्डामा समेटिएको छ ।

आतंकवाद र सीमापार अपराधविरुद्ध साझा प्रतिबद्धता

भारतका गृहमन्त्री अमित शाहले बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई ऐतिहासिक भन्दै आतंकवाद, सीमापार संगठित अपराध, लागुऔषध तस्करी, कट्टरपन्थ, मानव बेचबिखन, अवैध वित्तीय प्रवाह र साइबर खतराविरुद्ध साझा प्रतिबद्धता बलियो बनाउने बताएका छन् ।

क्षेत्रीय सुरक्षा चुनौतीको प्रकृति परिवर्तन भइरहेका बेला सदस्य राष्ट्रबीच सहकार्य बढाएर यस्ता अपराधको प्रभावकारी सामना गर्ने विषय बैठकको प्रमुख प्राथमिकतामध्ये रहने देखिएको छ ।

बंगलादेशका गृहमन्त्री सहभागी नहुने

भारतमा हुन लागेको गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बंगलादेशका गृहमन्त्री सलाहउद्दीन अहमद सहभागी नहुने भएका छन् । उनको सट्टा बंगलादेशबाट गृहसचिव मन्जुर मोर्सेद चौधरी सहभागी हुने बताइएको छ ।

के हो बिमस्टेक ?

बिमस्टेक दक्षिण तथा दक्षिणपूर्वी एसियाका सात राष्ट्र सम्मिलित क्षेत्रीय संगठन हो । यसको स्थापना ६ जुन १९९७ मा भएको थियो । सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्डको सहभागितामा स्थापना भएको यस संगठनमा सन् १९९७ डिसेम्बरमा म्यानमार जोडिएको थियो । नेपाल र भुटान सन् २००४ मा सदस्य बनेका थिए ।

बिमस्टेकले कृषि तथा खाद्य सुरक्षा, नीलो अर्थतन्त्र, क्षेत्रीय सम्पर्क सञ्जाल, संस्कृति, विपद् व्यवस्थापन, ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन, स्वास्थ्य, मानव संसाधन विकास र अन्य साझा हितका क्षेत्रमा सदस्य राष्ट्रबीच सहकार्य प्रवर्द्धन गर्दै आएको छ ।

पहिलो गृहमन्त्रीस्तरीय बैठकले क्षेत्रीय सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा सदस्य राष्ट्रबीचको सहकार्यलाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ ।