रुपन्देही । मौसम प्रतिकूलताका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुनः सञ्चालनमा आएको छ । मंगलबार बिहान मौसम अनुकूल बनेपछि नेपाल वायुसेवा निगमले काठमाडौं–रेसुङ्गा उडान गरेको हो ।
नेपाल वायुसेवा निगमका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो । वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए ।
मंगलबार रेसुङ्गाबाट काठमाडौं जाने १३ जना र काठमाडौंबाट रेसुङ्गा आउने दुई जना यात्रु रहेको थापाले जानकारी दिए । उनका अनुसार वर्षायाममा मौसम प्रतिकूलताका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित हुनु सामान्य भए पनि यस वर्ष भने लामो समयसम्म हवाई सेवा अवरुद्ध भएको हो । सामान्यतया यस्तो समस्या करिब अढाइ महिनासम्म रहने गरेको छ ।
यात्रुको सुविधालाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले रेसुङ्गा–काठमाडौं मार्गमा साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्दै आएको छ । निर्धारित तालिकाअनुसार काठमाडौंमा बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः४५ बजे विमान उड्ने व्यवस्था छ ।
हाल गुल्मीबाट काठमाडौं जाने यात्रुले प्रतिव्यक्ति १० हजार ५१० रुपैयाँ र काठमाडौंबाट गुल्मी आउने यात्रुले १० हजार ७१० रुपैयाँ हवाई भाडा तिर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय हवाई इन्धनको मूल्यवृद्धिसँगै भाडा बढ्दा यात्रुको चापसमेत केही घट्दै गएको बताइएको छ ।
रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मी र काठमाडौंबीचको हवाई सम्पर्क सहज बनेको छ । सडक यात्राको विकल्पका रूपमा रहेको हवाई सेवाले जिल्लावासीलाई आवतजावतमा सुविधा पुर्याउनुका साथै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत सहयोग गर्दै आएको छ ।
चार महिनापछि नियमित उडान पुनः सुरु भएसँगै गुल्मीबाट काठमाडौं आवतजावत गर्ने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ । साथै, हवाई सेवा नियमित हुँदा जिल्लाको पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
















प्रतिक्रिया