काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणमा संसदीय छानबिन हुनुपर्ने बताएकी छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले उक्त अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिइन् ।
उनले यस विषयलाई सम्बन्धित राजनीतिक दलको आन्तरिक मामिलामा मात्र सीमित गर्न नहुने बताइन् । उनका अनुसार, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै संसद्बाटै पनि छानबिन गरिनुपर्छ, ताकि वास्तविकता बाहिर ल्याउन सकियोस् ।
अर्यालले छानबिनबाट सम्बन्धित व्यक्ति दोषी ठहरिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनुपर्ने बताइन् । सार्वजनिक पदमा रहेका व्यक्तिहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।
शक्ति र पदको आडमा अरूमाथि अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई पनि नहुने उल्लेख गर्दै अर्यालले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो व्यवहार र आचरणप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद सुनारसँग सम्बन्धित अडियो प्रकरणबारे विभिन्न प्रश्न उठिरहेका बेला अर्यालले संसदीय छानबिनको माग गरेकी हुन् । यद्यपि, यस प्रकरणमा दोषी ठहर गर्ने आधार छानबिनबाट प्राप्त तथ्य र प्रमाण नै हुनेछन् ।

















प्रतिक्रिया