बेत्रावती। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले विशेष पूजा गरेका हुन् । बाढी गएको ४९औँ दिनको अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै आयोजना गरिएको घेवामा सहभागी प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
गत बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित धार्मिक अनुष्ठानमा लामाहरूले बौद्ध परम्पराअनुसार पूजापाठ गरेका थिए । मृतकका परिवार तथा प्रभावित समुदायप्रति सम्मान र समवेदना व्यक्त गर्ने उद्देश्यले विशेष पूजा आयोजना गरिएको हो ।
बाढीका कारण घरविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न प्रचण्ड नुवाकोट पुगेका थिए । सोही क्रममा उनी मृतकहरूको सम्झनामा आयोजित विशेष घेवामा सहभागी हुन बेत्रावतीस्थित उत्तरगयाधाम पुगेका हुन् ।
रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्थापना र मृतकहरूको सम्झनामा आयोजित धार्मिक अनुष्ठानले विपद्बाट प्रभावित समुदायको पीडा र क्षतिलाई पुनः स्मरण गराएको छ ।

















प्रतिक्रिया