पाकिस्तानमा रेल दुर्घटनाले निम्त्यायो ठूलो क्षति, ६ को मृ-त्यु


पाकिस्तान । पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान भएको रेल दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै पटरीबाट खसेको हो । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा रेलका सबै १४ वटा डिब्बा पटरीबाट खसेका छन् । दुर्घटनापछि घटनास्थलमा उद्धारकर्मी र प्रहरी परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि मुल्तानस्थित निस्थार अस्पतालमा भर्ना गरिएको छ । उद्धार तथा राहत कार्य जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

दुर्घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुःख व्यक्त गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई तत्काल उचित उपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

रेल दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गर्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना भएका छन् । सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पाकिस्तानको रेल सुरक्षा र मर्मतसम्भार व्यवस्थामाथि प्रश्न उठेका थिए ।