काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहसँग भेटवार्ता गरेका हुन्।
भारतस्थित नेपाली दूतावासका अनुसार भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापन प्रभावकारी बनाउने तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो।
भेटका क्रममा दुवै देशबीच विपद् पूर्वतयारी तथा विपद्पछिको प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ। दुवै देशका जनताको पारस्परिक हितलाई ध्यानमा राख्दै सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा व्यावहारिक सहयोग अघि बढाउनुपर्नेमा गृहमन्त्री गुरुङले जोड दिएका थिए।
त्यसैगरी, नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारत सरकारले समयमै सहयोग गरेको भन्दै गृहमन्त्री गुरुङले भारतीय सरकारप्रति आभार व्यक्त गरेका थिए।
नेपाल र भारतबीच खुला सीमा, सुरक्षा समन्वय तथा अन्तरदेशीय अपराध नियन्त्रणजस्ता विषयमा सहकार्य आवश्यक रहँदै आएको छ। गृहमन्त्रीद्वयबीचको भेटलाई दुई देशबीचको सुरक्षा सहयोग र विपद् व्यवस्थापनमा समन्वय बढाउने प्रयासका रूपमा हेरिएको छ।

















प्रतिक्रिया