काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार देशका सबै भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको हो। मनसुन बाहिरिएसँगै अब मौसममा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिने मौसमविद्ले बताएका छन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा वर्षा भएको छैन। अधिकांश भूभागको मौसम सफा रहे पनि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पश्चिमबाट बादल प्रवेश गरेको विभागले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार र शुक्रबार हिमपात तथा वर्षाको गतिविधि केही बढ्न सक्ने अनुमान गरिएको छ। बिहीबार दिउँसो पश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम स्तरको हिमपात वा वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र पश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने मौसमविद् अधिकारीले बताएका छन्। तराईका क्षेत्रमा भने वर्षाको सम्भावना छैन।
बिहीबार राति पनि हिमाली भूभागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने पूर्वानुमान छ। शुक्रबार बिहान मध्यदेखि पश्चिम तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। शुक्रबार पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्ने क्रममा देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। शुक्रबार राति र शनिबार बिहान तराईका अन्य क्षेत्रमा पनि हुस्सु लाग्न सक्ने अनुमान गरिएको छ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै विभागले हिमाली क्षेत्रमा पहेँलो रङको चेतावनी जारी गरेको छ। बिहीबार कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग तथा शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद् अधिकारीले आगामी केही दिनमा पश्चिमी वायुको प्रभाव क्रमशः घट्दै जाँदा मौसममा सुधार आउने देखिए पनि यसको आंशिक प्रभाव रहन सक्ने बताएका छन्। उनले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

















प्रतिक्रिया