तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि बन्द भएको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई राहत मिल्ने भएको छ।
गत असोज ११ गते आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने कालीगण्डकी पुलको दुवैतर्फको पहुँच सडक बगाएको थियो। पहुँच सडक क्षतिग्रस्त भएपछि पुल भएर हुने सवारी आवागमन ठप्प भएको थियो।
नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको थियो। तनहुँतर्फको पहुँच सडक भने बुधबार सम्पन्न भएपछि पुलबाट सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए।
पुलको घिरिङतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। स्याङ्जाको सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौतामार्फत मर्मतको काम सम्पन्न गरेको हो।
पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायत स्थानमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय नागरिकको दैनिक आवागमनसँगै यात्रु तथा मालसामान ढुवानीमा पनि सहजता आउनेछ।
करिब १२ वर्षअघि निर्माण गरिएको फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावत गर्ने प्रमुख मार्गका रूपमा रहेको पुलको पहुँच सडक बाढीले बगाएपछि हजारौँ यात्रु तथा सयौँ सवारीसाधन प्रभावित भएका थिए।
पुल सञ्चालनमा आएसँगै दसैँका बेला घर आउजाउ गर्ने यात्रु तथा स्थानीयवासीलाई विशेष राहत मिल्ने गाउँपालिका अध्यक्ष थापाले बताए।
















प्रतिक्रिया