काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन कात्तिक १९ गतेसम्मको समय निर्धारण गरेको हो।
असोज २६ गते बसेको समितिको बैठकले कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय तोकेको थियो। समितिका सचिव तुलबहादुर कँडेलका अनुसार तोकिएको समयभित्र प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन सकिनेछ।
समितिका सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउने क्रममा उजुरी आह्वान गर्ने निर्णय गरिएको जानकारी दिएका थिए।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
उजुरी दिने समयसीमा समाप्त भएपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। सुनुवाइपछि समितिले उनीहरूको नियुक्तिसम्बन्धी निर्णय लिनेछ।
















प्रतिक्रिया