काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन् । एक महिलासँग आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिने अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सुनारले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।
रास्वपा केन्द्रीय अनुशासन आयोगले प्रकरणबारे उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन मंगलबार सुनारलाई पत्र पठाएको थियो । आयोगका एक सदस्यका अनुसार सुनारले तोकिएको समयभित्रै जवाफ पठाएका छन् । जवाफमा उनले आफूमाथि लगाइएका आरोप स्वीकार नगरेको ती सदस्यले बताएका छन् ।
आयोगका अनुसार सुनारले आरोप अस्वीकार गरे पनि छानबिन प्रक्रिया रोकिएको छैन । पीडित पक्षबाट औपचारिक उजुरी नआएको अवस्थामा पनि सार्वजनिक भएको अडियोको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र अनुसन्धान अघि बढाइने आयोगका सदस्यले बताएका छन् ।
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले सुनारबाट लिखित प्रतिक्रिया लिने पहिलो चरणको काम पूरा भएको र दोस्रो चरणको छानबिन सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार अब अडियोको वास्तविक स्रोतसम्म पुग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक कागजात मगाउने काम अघि बढाइनेछ ।
छानबिनका क्रममा अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकसँग पत्राचार गरी अडियो, भिडियो वा अन्य सम्बन्धित कागजात उपलब्ध गराउन अनुरोध गर्ने निर्णय आयोगले गरेको छ । आवश्यक परे अडियोको सत्यता जाँच गर्न विशेषज्ञको रायसमेत लिइने उपप्रमुख भट्टराईले बताएका छन् ।
विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले भट्टराईकै संयोजकत्वमा आफ्ना सदस्यहरू सम्मिलित विशेष छानबिन समिति गठन गरेको छ । समितिलाई आवश्यक प्रमाण सङ्कलन गरी अनुसन्धान अघि बढाउने र आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा पेस गर्ने जिम्मेवारी दिइएको छ ।
सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको अडियोमा एक महिलासँग आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको र ‘ब्ल्याकमेलिङ’ गरिएको सुनिने दाबी गरिएको छ । अडियो सार्वजनिक भएपछि आलोचना बढेसँगै रास्वपाले घटनाको सत्यतथ्य अनुसन्धान गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
अब छानबिन समितिले अडियोको स्रोत, उपलब्ध प्रमाण र त्यसको सत्यता परीक्षण गरी प्रतिवेदन बुझाएपछि आयोगले थप निर्णय गर्नेछ । हालसम्म सुनारले आरोप अस्वीकार गरेका छन् भने अडियोको आधिकारिकता र घटनासम्बन्धी तथ्य स्थापित गर्न अनुसन्धान जारी रहेको छ ।
















प्रतिक्रिया