आमा र नवजात शिशुको अधिकार संरक्षणका लागि नयाँ निर्देशिका जारी


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ ।

यसअघि लागू रहेको ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले बिहीबार जनाएको छ ।

नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा आमाको स्वास्थ्य, नवजात शिशुको सुरक्षा, उनीहरूको अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह सुनिश्चित गर्नु निर्देशिकाको मुख्य उद्देश्य रहेको छ ।

निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ । प्रसवका बेला परिवारको सदस्यको साथले आमालाई भावनात्मक सहयोग पुग्ने र उनको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अनावश्यक रूपमा अलग नराखी आमाकै बेडमा राख्ने तथा सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ । यसले आमा र शिशुबीचको सम्पर्क बढाउनुका साथै स्तनपान सुरु गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रीवितरण नियन्त्रण) ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ । आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्रीवितरण तथा प्रवर्द्धनलाई नियमन गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने व्यवस्था निर्देशिकामा समेटिएको छ ।

सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श दिने र सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ । यस्तो व्यवस्थाले घर फर्किएपछि देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ निर्देशिकाले प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । साथै, स्वास्थ्य संस्थामा स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने, आमालाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने विषयलाई महत्त्व दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै आमा र नवजात शिशुको अधिकार संरक्षण तथा स्तनपान प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ ।