एमालेको थिंक ट्याङ्क इन्स्पायरले सार्वजनिक गर्‍यो वेबसाइट


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिंक ट्याङ्कका रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । वेबसाइटमार्फत नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा भूराजनीतिक विषयमा गरिएका अध्ययन, अनुसन्धान र नीतिगत बहसका सामग्री उपलब्ध हुनेछन् ।

इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नेपालले सामना गरिरहेका विविध चुनौतीको अध्ययन तथा अनुसन्धान गर्दै नीति निर्माता र विषय विज्ञलाई एउटै मञ्चमा ल्याएर छलफल सञ्चालन गरिरहेको छ । ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्‍याउने प्रतिष्ठानको लक्ष्य रहेको उनले बताए ।

बिहीबार सार्वजनिक गरिएको वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिला गरी पाँच विधा समेटिएका छन् । ती विधामार्फत विभिन्न क्षेत्रका अध्ययन, अनुसन्धान र नीतिगत बहसका सामग्री सार्वजनिक गरिनेछ ।

वेबसाइटमा इन्स्पायरले यसअघि सञ्चालन गरेका नीति बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेखहरू राखिएका छन् । हाल वेबसाइटमा आठ वटा कार्यपत्र र चार वटा विशेष प्रतिवेदन समावेश छन् ।

प्रकाशित कार्यपत्रमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसाङ्ख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थराजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन तथा समाजको वर्ग विश्लेषणलगायत विषय समेटिएका छन् ।

वेबसाइटमा ‘किताबका कुरा’ र ‘यूथ इग्नाइट’ लगायतका शीर्षकसमेत राखिएका छन् । इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारलाई ‘पोलिसी ल्याब’ मा समेटिनेछ । यसले अनुसन्धानबाट प्राप्त निष्कर्ष र छलफलबाट आएका विचारलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अंग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहेका छन् ।

एमालेलाई नीतिगत रूपमा बलियो बनाउनुका साथै राजनीतिक वृत्तबाहिर भइरहेका बहस र समाजमा उठिरहेका विषयलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयासस्वरूप वेबसाइट सार्वजनिक गरिएको अध्यक्ष रिमालले बताए ।

वेबसाइटमा प्रकाशित सामग्रीबारे आयोजित छलफलमा डा. युवराज खतिवडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आ–आफ्ना धारणा राखेका थिए ।