सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुखदेखि सांसदसम्मले दसैँ खर्चबापत साढे १७ लाख रुपैयाँ बुझेका छन् । प्रदेशसभा सचिवालयले पदाधिकारी तथा सदस्यहरूलाई चाडपर्व खर्चबापत उक्त रकम भुक्तानी गरेको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार असोज महिनाको पारिश्रमिकसँगै पदाधिकारी तथा सांसदहरूको खातामा चाडपर्व खर्चसमेत पठाइएको छ । कर्णाली प्रदेशसभाका ३२ जना पदाधिकारी तथा सदस्यले दसैँ खर्चबापतको रकम बुझेका हुन् ।
सभामुख नन्दा गुरुङले ६१ हजार ४८० रुपैयाँ चाडपर्व खर्च बुझेकी छन् । यस्तै, विपक्षी दलका नेता जीवनबहादुर शाही र उपसभामुख यशोदा न्यौपानेले जनही ५८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सत्तापक्ष तथा विपक्षी दलका प्रमुख सचेतक र विषयगत समितिका अध्यक्षहरूले भने जनही ५६ हजार ८४० रुपैयाँका दरले चाडपर्व खर्च पाएका छन् । प्रदेशसभा सदस्यहरूको मासिक पारिश्रमिक ५२ हजार ६०० रुपैयाँ रहेको छ ।
कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार दसैँ खर्च भुक्तानी गरिएको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशसभामा चारवटा विषयगत समिति छन् । तर, अहिले एउटा समितिको सभापति पद रिक्त रहेकाले तीन जना मात्रै समितिका सभापति छन् । यस्तै, नेकपा एमालेले प्रमुख सचेतक नियुक्त गर्न सकेको छैन । नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका गरी दुई जना प्रमुख सचेतक छन् ।
दुई प्रमुख सचेतक र तीन समितिका सभापतिको मासिक पारिश्रमिकमा मात्रै दुई लाख ८४ हजार रुपैयाँ खर्च हुने गरेको छ । प्रदेशसभामा मुख्यमन्त्री र मन्त्री गरी सात जनाबाहेक पदाधिकारी तथा सांसदको सङ्ख्या ३३ रहेको छ । तीमध्ये सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका अध्यक्ष तथा प्रमुख सचेतक गरी आठ जना पदाधिकारी छन् । बाँकी २५ जना सांसदको मासिक पारिश्रमिकमा १३ लाख १५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।
यद्यपि, पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुमिसकेको छ । प्रदेशसभाका लेखा अधिकृतका अनुसार उनको असोज महिनाको करिब १२ दिनको पारिश्रमिक मात्रै भुक्तानी गरिएको छ ।
यसरी सभामुखदेखि सचेतक, समितिका सभापति र सांसदसम्म गरी ३२ जनाले दसैँ खर्चबापत साढे १७ लाख रुपैयाँ बराबर रकम बुझेका छन् ।
















प्रतिक्रिया