मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाद्रेभीरमा ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी भ्यान हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो। भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहटका राजेश साह, हरि साह, उनका छोरीहरू चन्दा कुमारी साह र शिवा कुमारी साह तथा पाँच वर्षीय नाति आर्यन साह घाइते भएका छन्। त्यस्तै, भारतको बिहारस्थित मोतिहारीका सर्फे आलम, रौतहटकी सबिता कुमारी चौधरी, राहुल ठाकुर र विजय कुमार ठाकुर पनि घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि सुरुमा हेटौँडा अस्पताल लगिएको थियो। हरि साहको अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्य पनि उनीसँगै चितवन गएको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। हरि साहका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेको विवरणमा उल्लेख छ।
दुर्घटनापछि भ्यान घटनास्थलमै रहेको छ भने चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको प्रहरीले जानकारी दिएको छ।
















प्रतिक्रिया